वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जमा अध्ययनरत दलित विद्यार्थीहरूका लागि महानगरपालिकाले दलित छात्रावास निर्माण गर्ने घोषणा गरेका छन् ।

वीरगञ्जमा नेपाल पासवान संघ पर्साले आयोजना गरेको बृहत् पासवान भेलालाई सम्बोधन गर्दै मेयर सिंहले दलित विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्न महानगरपालिकाले यही वर्षमा दलित छात्रावास निर्माण गर्ने बताए । उनले दलित विद्यार्थीहरूको शैक्षिक यात्रामा सहजता ल्याउन छात्रावास आवश्यक भएको बताए ।
मेयर सिंहले दलितहरूको अवस्था सुधार नआउनुमा आंशिक कारण दलित स्वयं र दलित अगुवाहरू पनि रहेको टिप्पणी गरे । उनले भने, ‘कानुनले दिएको अधिकारका सवालमा दलित अगुवाहरूले नै बोल्न नसक्नु र अवसरवादी भूमिका मात्र लिन खोज्नु कमजोरी हो ।’
भेलामा भारतको अल इन्डिया पासवान एकता मञ्चका अध्यक्ष निरञ्जन पासवानले नेपाल–भारतबिचको ऐतिहासिक मित्रता जस्तै नेपाल र भारतका पासवान जातिबिचको आपसी सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।
नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा आयोजित भेलामा मञ्चका महासचिव डा. वीरेन्द्र पासवान, चौहरमल राष्ट्रिय परिषद् मुकामका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान, दलित सङ्घर्ष समिति बाराका अध्यक्ष शिवदयाल पासवान, रौतहटका मटुक पासवान, नरेन्द्र पासवान, कलाकार प्रीति पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।





