पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।


तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरि धर्ना बसेका छन् । गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका कर्मचारीहरू ७ महिनादेखि तलब नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरू आज सोमबार बिहान ९ बजेदेखि गाउँपालिकाको भिस्वास्थित कार्यालय अगाडि धर्नामा बसेका छन् भने कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेका छन् । उनीहरूले लामो समयदेखि तलब नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या भएको बताएका छन् ।

वडा नं. ५ का कम्प्युटर अपरेटर लालबाबु महमदका अनुसार आफूहरू कात्तिक महिनादेखि तलबविहीन भएको बताएका छन् । उनले भने, “लामो समयदेखि तलब नपाएर हामी समस्यामा परेका छौं । माघ महिनादेखिको म्याद पनि थप भएको छैन र कात्तिक महिनादेखि अहिलेसम्म तलब पनि पाएका छैनौं ।
कर्मचारीहरूले तलब निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटक–पटक सम्पर्क गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार गाउँपालिका र मातहतका वडा कार्यालयहरूमा कार्यरत करिब ५० जना कर्मचारी ७ महिनादेखि तलबविहीन रहेको छन् ।
कर्मचारीहरूको धर्नाका कारण गाउँपालिका कार्यालयसहित पाँचवटै वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको जनाइएको छ । यसबाट सेवाग्राहीहरू आवश्यक सेवा लिनबाट वञ्चित भएका छन।





