पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको ईलाका प्रहरी कार्यालय नागवा का इन्चार्ज प्रहरी नायब निरीक्षक सुनिल झामाथि अवैध रकम असुली तथा तस्करीमा संलग्न व्यक्तिसँग मिलेमतो गरेको आरोप लागेको छ। स्थानीय बासिन्दाले प्रहरीबाटै डर–त्रास र आर्थिक दबाब झेल्नुपरेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार पर्साको ईनार्वा गाउँ, वीरगञ्ज भन्सार आसपासका क्षेत्र तथा बाराको छातवा, मुशहार्वा र बलिरामपुर नाकाबाट विभिन्न सामानको तस्करी हुने गरेको छ।

ती गतिविधिमा संलग्न व्यक्तिहरूसँग प्रहरीकै केही कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीयले लगाएका छन्। उनीहरूका भनाइअनुसार प्रहरी नायब निरीक्षक झाले तस्करीमा संलग्न व्यक्तिहरूबाट नियमित रूपमा “महिनावारी” रकम लिने गरेको आरोप छ।
स्थानीय व्यापारीहरूका अनुसार साना व्यापारीदेखि ठूला कारोबारीसम्मलाई बाटोमा रोकी अनावश्यक सोधपुछ गर्ने, दुःख दिने तथा रकम माग्ने काम भइरहेको छ। कतिपय व्यापारीले आफूहरूलाई सुरक्षा दिनुपर्ने निकायबाटै असुरक्षा महसुस भएको बताएका छन्। नाम नखुलाउने सर्तमा केही स्थानीयले सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्नेहरूसँग प्रहरीको प्रत्यक्ष समन्वय हुने गरेको दाबी गरेका छन्।
स्थानीय बासिन्दाले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी कर्मचारीबाटै यस्ता गतिविधि हुनु दुःखद भएको बताएका छन्। उनीहरूका अनुसार यसले नेपाल प्रहरी को छविमा नकारात्मक असर परेको छ। सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्नुपर्ने निकायबाटै संरक्षण भइरहेको आरोप लागेपछि सर्वसाधारणमा निराशा बढ्दै गएको स्थानीयको भनाइ छ।
यस विषयमा सम्बन्धित निकायमा जानकारी गराउँदा पनि हालसम्म कुनै प्रभावकारी कारबाही नभएको स्थानीयको गुनासो छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रमुख प्रहरी उपरीक्षकले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न मातहतका निकायलाई पटक–पटक कडा निर्देशन दिँदै आएका छन्। तर स्थानीयका अनुसार नागवा क्षेत्रमा भने निर्देशनविपरीत गतिविधि भइरहेको आरोप छ। सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी र प्रहरीमाथि लागेको आरोपबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको स्थानीयको भनाइ छ।





