पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत वीरगंज महानगरपालिका– २५ स्थित ड्राईपोर्ट चौकमा खटिएका ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) धर्मेन्द्र झाले भारतीय मालवाहक सवारीसाधनसँग दैनिक अवैध असुली गर्ने गरेको गम्भीर आरोप लागेको छ।

मुख्य भन्सार कार्यालय (आईसीपी) बाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक गाडीहरूबाट असई झाले नेतृत्व गरेको टोलीले दैनिक भारतीय रुपैयाँ २०० देखि ५०० सम्म असुल्ने गरेको चालकहरूले गुनासो गरेका छन्। यसरी असुलिएको रकम दिनहुँ हजारौंको हाराहारीमा पुग्ने र उक्त रकम व्यक्तिगत लाभका लागि प्रयोग हुने गरेको स्रोतको दाबी छ।
भारतीय ट्रक चालकहरूको भनाइमा असई झाले सिधा नगद नलिई, आफैंले परिचालित गरेका केही दलालमार्फत रकम उठाउने ‘नेटवर्क सिस्टम’ सञ्चालन गरेका छन्। दलालहरूले ड्राइभरहरूसँग अग्रिम ‘सेटिङ’मा रकम लिएर ट्राफिक जाँच सहज पारिदिने, जरिवाना कटाउने नाटक गरेर पैसा बाँड्ने काम गर्दै आएको बताइन्छ।
यही प्रणालीका कारण ओभरलोड तथा नियम विपरीतका भारतीय गाडीहरू सजिलै नेपाल भित्रिन पाउँछन् भने ट्राफिक व्यवस्थापनको नाममा भ्रष्टाचारको जरो अझ गहिरिँदै गएको छ।
स्थानीय व्यापारी र सरोकारवालाहरूका अनुसार यस किसिमको अवैध असुलीले राजस्व चुहावट र ट्राफिक प्रशासनमा जनविश्वास गुम्ने अवस्था सिर्जना भएको छ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भने यसबारे मौन छन्। पत्रकारहरूले सोध्दा उनले “जाँच भइरहेको” भन्ने औपचारिक जवाफ मात्र दिएका छन्। तर भित्रभित्रै ‘सेटिङ नेटवर्क’ उच्च तहसम्मै जरा गाडेको बताइन्छ।





